विराटनगर । सुनसरीको कोशी गाउँपालिका-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालकले आफूमाथि कुटपिट गरेको भन्दै पत्रकारले उजुरी दिएका छन् ।
कोशी-८ का २१ वर्षीय पत्रकार देवराज यादवले अस्पताल सञ्चालकले आफूमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
अस्पताल सञ्चालक हरिनगर गाउँपालिका-५ वसन्तपुरका ३२ वर्षीय सुबोध यादवले शुक्रबार राति अस्पतालमा भिडियो किन खिचेको भन्दै कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।
ज्यान मार्ने धम्की आएकाले सुरक्षाका लागि प्रशासनमा निवेदन दिएको पीडित पत्रकार यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले घटनाका विषयमा जानकारी आएको र घटनाको वास्तविक बुझ्ने र दोषी भए कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।
अस्पतालको भिडियो किन खिचिस् ? भन्दै मादक पदार्थ सेवन गरेका अस्पताल सञ्चालक सुबोध यादवले कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।
अस्पतालको भिडियो नखिचेको तर, फेसबुक लाइभमा कुराकानी गरिरहेको अवस्थामा आरोपितले कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।
कुटपिटबाट टाउकोमा चोट लागेका पीडित पत्रकारको भोक्राहा नर्सिङ गाउँपालिका-४ स्थित सप्तकोसी न्यूरो अस्पतालमा उपचार गरिएको छ ।