विराटनगर । मोरङ जिल्लाको बूढीगंगा गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बूढीगंगा-३ महालक्ष्मी वायरअगाडि कोशी लोकमार्गमा शनिबार राति करिब १०:४० बजे एम्बुलेन्स दुर्घटना भएको थियो ।
गंगाचोकबाट नेमुवातर्फ आउँदै गरेको ‘मनमाया स्मृति प्रतिष्ठान’को को १ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती ४ घर भई हाल मोरङको बुढिगंगा गाउँपालिका-२ मा बस्ने २४ वर्षीय आशिष राईको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते राईलाई उपचारका लागि बिराट टिचिङ अस्पताल गंगाचौक लगिएकोमा उपचारकै क्रममा राति ११:०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।
प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको जनाइएको छ । दुर्घटनापछि एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।
घटनास्थल ट्राफिक प्रहरी पोस्ट नेमुवाबाट तीन किलोमिटर दक्षिणमा पर्दछ ।