विराटनगर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-८ स्थित सरस्वती पुलनजिकै मदन भण्डारी लोकमार्गमा रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति ९ः३० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ भान्टावारी निवासी अन्दाजी ३४ वर्षीय भुवन राईको मृत्यु भएको हो ।
गाईघाटबाट चुहाडेतर्फ फर्की रोकिराखेको प्रदेश २-०१-००१त २३०१ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको बा.६४ प ५१७ नम्बरको १२५ सिसी क्षमताको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा राई गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा चेकजाँच गर्दा उनको मृत्यु भइसकेको अस्पतालका डाक्टरले घोषणा गरेका थिए ।
ट्याक्टर चालक उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ निवासी अन्दाजी २८ वर्षीय कुल बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा लिइएको छ ।
मोटरसाइकल र ट्याक्टर समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।
घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट अन्दाजी ६ किलोमिटर पश्चिममा पर्छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको कारण मोटरसाइकलको तीव्र गति रहेको जनाइएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।