विराटनगर । रोटरी क्लब र रोट्र्याक्ट क्लब इटहरीको संयुक्त आयोजनामा जारी आँखा शिविरमा सेवा लिनेहरूको संख्या हजार नाघेको छ ।
रोटरी र रोट्र्याक्ट क्लबले सुनसरी, मोरङ, उदयपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा निःशुल्क आँखा शिविरको आयोजना गरिरहेको छ ।
अस्ट्रेलियाबाट आएका २१ जना आँखा रोग विशेषज्ञहरूले सेवा दिने उक्त शिविरमा हालसम्म एक हजारभन्दा बढी लाभान्वित भएको रोट्र्याक्ट क्लब इटहरीकी अध्यक्ष युरिका घिमिरेले जानकारी दिइन् ।
शिविर सुरु भएको आठौं दिनसम्म आइपुग्दा एक हजार जनाभन्दा बढीले सेवा लिएको उनको भनाइ छ ।
इटहरीको शान्ति बुद्ध प्राथमिक विद्यालय, उदयपुरको कालीखोलास्थित श्री सेकेन्डरी स्कुल, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका, सुनसरीको जब्दी स्कुल, विराटनगरको ज्योति आधारभूत विद्यालय, विराटनगरकै कञ्चनबारीस्थित श्री माध्यमिक विद्यालय र सिन्धुलीमा शिविर सम्पन्न भइसकेको छ ।
शिविरमा आएका आँखाका बिरामीहरूलाई आवश्यकताअनुसारको चस्मा पनि निःशुल्क वितरण गरिएको छ ।
साथै, मोतियाबिन्दु भएर आँखाको शल्यक्रिया नै गर्नुपर्ने बिरामीलाई पनि निःशुल्क अपरेसन गरिएको अध्यक्ष घिमिरेले बताइन् ।