विराटनगर । जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
उनीहरू सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
उनीहरूले लिएको २० हजार रुपैयाँ बरामद भएको, घुस मागेको भिडियो र अडियोसमेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरुलाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गर्ने आदेश गरेको हो ।
मिश्रले फैसला कार्यान्वयनका लागि आएका सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउन घुस मागेका थिए ।
अख्तियारको टोलीले स्रेस्तेदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयलाई घुससहित पक्राउ गरेको थियो ।
विशेष अदालतले २० हजार रुपैंया घुससहित जिल्ला अदालत कपिलवस्तुका स्रेस्तेदार सन्तोषकुमार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत कपिलवस्तुकै कम्प्युटर अपरेटर विकास पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गरेको हो ।