विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः प्रहरी हिरासतमा पुगेका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछाने पुनः प्रहरी हिरासतमा पुगेका हुन् ।
सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले आज बयान लिएको थियो ।
थुनछेक बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालतका काठमाडौं स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
थुनछेक बहस नसकिएकाले त्यो कायम हुँदासम्मका लागि प्रहरी हिरासतमा पठाउनु भन्ने न्ययाधीशको आदेशबमोजिम रविलाई प्रहरीकहाँ पठाइएको हो ।
काठमाडौं अदालतमा आफैं उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश गरेको हो ।
अदालतको आदेशअनुसार प्रहरीले लामिछानेलाई सोमबार पुनः अदालत उपस्थित गराउनुपर्ने छ । लामिछानेको बयान सकिएको भनेर बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए ।
तर, आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने विषय सरकारी वकिलले इजलासमा उठाएपछि न्यायाधीश अधिकारीको इजलासले सोमबार पुनः उपस्थित गराउने गरी उनलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका लामिछाने काठमाडौं अदालतको आदेशबाट न्यायिक हिरासतमा जाने भएका छन् ।
उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिने भएको छ । सोमबार पुनः अदालत पेस गरिने र बिहान ११ बजेबाट थुनछेक बहस हुने बताइएको छ ।
जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि गत बिहीबार हिरासतमुक्त भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
कास्कीमा लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित संगठित अपराध र सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छन् ।