विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेका लागि बोलाइएको छ ।
कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेशसभाको बैठक माघ ७ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।
प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयकसमेत लैजाने तयारी गरेको छ ।