विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा अध्ययनरत दुई विद्यार्थी हराएको भन्दै अभिभावक आक्रोशित बनेका छन् ।
सेन्ट जोसेफको होस्टेलबाट कक्षा १० मा पढ्ने १६ वर्षीय सुरज खड्का र जनकपुर घर भई होस्टल बस्दै आएका रनवीर सिंह हराएको हो ।
बुधबार रातिबाट उनीहरू हराएको भन्दै सुरजका अभिभावक आक्रोशित बनेका हुन् ।
विद्यार्थीका अभिभावक बेनुकुमार खड्काले आफू गएराति ११ बजे गाइघाटमा रहेका बेला होस्टलका वार्डेनले फोन गरेको बताउँदै भने, ‘होस्टलका वार्डेन सुभास साहले फोनमा केटाहरूले गल्ती गरेको भन्दै फोन गर्नुभयो ।’
फोनमा केटाहरूले गल्ती गरेको भन्दै वार्डेनले स्कुलबाट निकाल्ने चेतावनी दिएको खड्काले बताए । बिहान श्रीमतीलाई पठाउँदा बच्चाहरू नरहेको जानकारी पाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
‘स्कुलले भने एकतलामाथिबाट हामफालेर भागेको जनाएको बताएकाे छ,’ उनले भने, ‘तर, भाग्ने ठाउँ देखिएको छैन । बरु, प्लाष्टिकका दुइटा पाइप फुटेको छ । सम्भवतः निर्घात कुटपिट भएको छ ।’
राति निर्घात रूपमा कुटपिट गरेको र बाबुहरूलाई एसइई दिन नदिने भन्दै स्कुल चेतावनी दिएका कारण भागेको हुन सक्ने अभिभावकको आशंका छ ।
यता, स्कुलका प्रिन्सिपल अटल थापा रोपाचले सुरज र रनवीरले बदमासी गरेको पाइएको बताउँदै सजायस्वरूप एक-दुई पाइप हिर्काएको स्वीकारे ।
‘हिजो केटाहरूले केही बदमासी गरेका कारण कुटाइ खाएका रहेछन्,’ उनले भने, ‘र, उनीहरूले स्कुलबाट निस्किएर भागेछन् । अहिलेसम्म उनीहरू सम्पर्कमा छैनन् । उनीहरू भेटिएपछि कडा रूपमा अभिभावकसँग कुरा गर्नेछौं ।’
राति ११ बजे आफूहरूले अभिभावकलाई खबर गरेको उनको भनाइ छ । स्कुलको सिसिटिभी क्यामेरा हेर्दा बिहीबार बिहान ३ः५ बजेतिर उनीहरू झोला बोकेरै स्कुलबाट निस्किएको देखिएको छ ।