विराटनगर । कोशी प्रदेशका चार सांसदहरूले कानुनविपरीत भारत भ्रमण गरेको पाइएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्देशनमा सत्तापक्षका चार सांसदले भारत भ्रमण गरेका हुन् ।
यसरी भारत घुम्न जानेमा प्रदेशसभा सदस्य सुनिताकुमारी गुरुङ, राधाकृष्ण खनाल, ललिताकुमारी चौधरी र सुनिताकुमारी गच्छदार चौधरी रहेका छन् ।
उनीहरू गत शुक्रबारदेखि भारतको कोलकतामा आयोजना भएको कार्यक्रममा एक संस्थाको निमन्त्रणामा भारत पुगेका थिए ।
ग्रिन जेनेरेसन नामक संस्थाले अन्तर्राष्ट्रिय सुन्तला महोत्सवमा बोलाएपछि उनीहरू कुनै पनि प्रक्रिया पूरा नगरी कोलकता पुगेको खुलेको हो ।
उक्त संस्थाले कोशीका मुख्यमन्त्रीसँग सांसद पठाइदिन आग्रह गरेको थियो । महोत्सवका लागि लाग्ने खर्चसमेत उपलब्ध गराइदिने बाचा गर्दै मुख्यमन्त्रीले विदेश भ्रमणका लागि उनीहरूलाई पठाइदिएका हुन् ।
प्रदेशसभा सदस्यले वैदेशिक भ्रमण गर्दा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान पाउने कानुनी प्रावधान रहेको छ ।
कोशी प्रदेशका मन्त्रिपरिषद्ले पालाना गर्नुपर्ने आचारसंहिता २०८१ प्रदेशको राजधानीबाहिर भ्रमण गर्नुपर्ने भएमा मुख्यमन्त्रीबाट पूर्वस्वीकृत लिएर मात्रै भ्रमण गर्नुपर्ने उल्लेख छ ।
तर, आफ्नै मन्त्रिपरिषदबाट पारित गरेको आचारसंहितासमेत मुख्यमन्त्री कार्कीले पालना गरेका छैनन् ।
यता, उनीहरूले सभामुखलाई समेत जानकारी नगराई भारत गएको खुलेको छ । सभामुख अम्बरबहादुर विष्टले सुन्तला महोत्सवमा जाने सांसदहरूले कुनै पनि जानकारी नगराएको बताए ।