विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
माझीले बिहीबार गाउँपालिकाको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । लगत्तै उनले पदभारसमेत ग्रहण गरेका छन् ।
आइतबार भएको उपनिर्वाचनअनुसार ५४ वर्षीय माझीले साविक विजेतासमेत रहेको नेपाली कांग्रेसका उम्मेदवारलाई एक हजार ६३६ मतान्तरले हराएका थिए ।
गत महिनामात्र कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका माझीले ६९६९ मतसहितको जित हात पार्दै ग्रामथान गाउँपालिका अध्यक्ष बनेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४१५९ मत पाए ।
३० वैशाख २०७९ मा भएको चुनावमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन भएको हो ।
जसमा कांग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलका १४ र एक जना स्वतन्त्र १५ उम्मेदवारलाई माझीले उछिने ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पछि फोरम र नेपाली कांग्रेस एकीकरण भएपछि उनी कांग्रेस बने ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षको आकांक्षी रहेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।
तर, त्यसबेला वडाध्यक्षमा हारेका माझीले कांग्रेस छोडर माओवादी प्रवेश गर्दै समग्र ग्रामथानको नेतृत्व गर्ने अवसर पाएका हुन् ।