विराटनगर । सुनसरी प्रहरीले गाडीमा सरकारी नम्बर प्लेट टाँसेर तस्करी भएको ठुलो परिमाणमा गाँजा बरामद गरेको छ ।
स्कोरपिओ गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी भइरहेको सूचना पाएको प्रहरीले गोली प्रहार गरेर गाँजा बरामद गरेको हो ।
मंगलबार साँझ प्रहरीले सरकारी नम्बर प्लेट लगाइएका दुईवटा गाडीलाई धरान उपमहानगरपालिका–१३ अमरहाटबाट नियन्त्रणमा लिएको हो ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेका स्कोरपिओलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले इन्सास राइफलबाट ४ राउन्ड गोली प्रहार गरेको थियो ।
गोली हानेर गाँजा लोड गरिएका बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरीले सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडीलाई चालकले भगाएका थिए ।
प्रहरीले गोली प्रहार गरेपछि भागेको उक्त गाडी धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएको हो ।
त्यस्तै, सरकारी नम्बर प्लेट राखिएको अर्को ४६०५ नम्बरको गाडीलाई भने प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ ।
चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परेको जानकारी दाहालले दिए ।
उनका अनुसार दुवै गाडी चेकजाँच गर्दा ६ सय ९० किलो गाँजा बरामद भएको छ ।
प्रहरीको गोली प्रहारबाट ५१२७ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको र घटनामा मानवीय क्षति नभएको दाहालको भनाइ छ ।