विराटनगर । कोशी प्रदेशको नामकरण पुनः हुनुपर्छ भन्दै आन्दोलनरत समूहले आजबाट नयाँ चरणको आन्दोलन चर्काउने तयारी गरेको छ ।
प्रदेश नम्बर १ पुन नामांकन संयुक्त संघर्ष समितिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ चरणको आन्दोलनको घोषणा गर्ने छ ।
‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नामविरुद्ध प्रदर्शन कार्यक्रम’ गर्न पहिचान पक्षधरका नेता–कार्यकर्ता विराटनगर आउनेक्रम जारी छ ।
विराटनगर बिजुली अफिसबाट र्याली निकालेर लोकतान्त्रिक चोक (पुरानो महेन्द्र चोक) मा आएर सभा गर्ने तयारी समितिको छ ।
जसमा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, जसपा नेपाल सहअध्यक्ष रकम चेम्जोङ, कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल, जसपा केन्द्रीय नेता रमेश राई र पूर्वमन्त्री जयराम यादव लगायतले सम्बोधन गर्ने छन् ।
यता, आन्दोलन चर्किने छाँटकाँट देखिएपछि सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ । कोशी प्रदेशसभा, मुख्यमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
२०७९ फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामकरण भएको थियो । प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ पारित गर्दा उक्त नामको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए ।
त्यसयता पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् ।
सो आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बुको गत वर्षको चैत १० गते मृत्यु भएको थियो ।
उनलाई सरकारले सहिद घोषणा गरेको थियो । पहिचान पक्षधरसँग सरकारले पटक–पटक वार्ता गरे पनि आन्दोलनका कार्यक्रम भने रोकिएका छैनन् ।