विराटनगर । नेपाल र नेपालीको ठुलो पर्व दशैंले देशमा रौनक छाएको छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिताले भने नेपालको ठूलो चाड दशैँ भन्दैन । खेलाडीहरूले देशका लागि दशैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ ।
यसबीचमा काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्दै छ ।
फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे हुनेछ ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको उपाधिका लागि नेपालले उज्वेकिस्तानलाई प्रतिद्धन्दीको रूपमा पाएको हो ।
नेपाल समूह चरणको खेलमा लिगको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।
तुर्कमेनिस्तानसँग समान अंक भएपनि जित अन्तरका आधारमा नेपाल फाईनल प्रवेश गरेको हो ।
उज्वेकिस्तान सतप्रतिशत जितसहित फाइनल प्रवेश गरेको हो । उसले समूह चरणका सबै पाँच खेलमा जित निकालेको छ ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो ।
नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।