विराटनगर । अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प हवाईमार्ग हो । तर, यसलाई वायुसेवा प्रदायकले भने मौकाका रूपमा लिएका छन् ।
हुन त हरेक दसैंमा सर्वसाधारणको यात्रा गतिविधि बढ्ने भएकोले आकाश मार्गसम्म बढ्ने गरेको छ ।
विगतका वर्षहरू जस्तै यो वर्ष पनि हवाई टिकेट दसैंको लागि माग बढ्ने हुँदा वायुसेवा कम्पनीले सोहीअनुसार भाडा पनि बढाइरहेका हुन्छन् ।
अन्य समयमा सस्तो टिकट बेच्ने वायुसेवा कम्पनीहरू दशैंका लागि सस्ता हवाई बन्द गरेर महँगो मात्रै बिक्री गरेर बस्छन् ।
तर, दसैंकै बेला भए पनि यसपालि परिस्थिति भने फरक छ । प्रकोपका कारण राजमार्ग भएका बेला मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुलिरहेका छन् ।
वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलिरहेका छन् ।
लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको बेलामा हवाई भाडा नबढाउन सरकारले आग्रह गरे पनि वायुसेवा कम्पनीले अटेर गरिरहेका छन् ।
विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुपर्नेमा उल्टै दोब्बर भाडा असुल्न थालेको गुनासो चौतर्फी आएपछि सामाजिक अभियन्ता अभिषेक गिरीले सक्रियता देखाएका छन् ।
गिरीले शुक्रबार दिउँसो विराटनगर विमानस्थलमा रहेका विभिन्न वायुसेवा प्रदायक कम्पनीहरूको कार्यालय तथा विमानस्थल प्रशासनमा अनुगमन गरेका हुन् ।
गिरीले विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीलाई भेटेर बढी भाडा तिरेको प्रमाण बोकेर यात्रु विमानस्थल प्रशासन आइपुगेमा त्यस्ता प्रदायकमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।
‘मलाई फोन गरेर वा भेटेरै धेरै यात्रुले गुनासो पोखिरहेका छन्,’ उनले भने, ‘गाडीबाट आउन नसक्ने परिस्थितिका कारण हवाई मार्गको प्रयोग गर्न बाध्य रहेका त्यस्ता यात्रुलाई एयरलाइन्स कम्पनीले लुटिरहेका छन् । विमानस्थल प्रशासन र सरोकारवाला निकाय मौन छ ।’
यता, विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले सरकारले तोकेको अधिकतम् भाडाभन्दा धेरै तिर्नुपरेको गुनासो नआएको बताए ।
अनलाइन सिस्टमबाट टिकट बिक्री हुने भएकाले अनलाइनमा स्वीकृत भाडाभन्दा धेरै राखिएको पाइएमा कारबाही हुने पनि उनको भनाइ छ ।
‘सडक अवरुद्ध हुँदा हवाई चाप बढेको छ, जसका कारण टिकट नपाउने समस्या आउनु स्वभाविक नै हो,’ उनी भन्छन्, ‘तर, दोब्बर पैसा तिरेर टिकट काट्नुपरेको भन्दै निवेदन भने यहाँ आइपुगेको छैन । यस्तो पाइएमा एयरलाइन्स कम्पनीलाई कारबाही गर्छौं ।’