विराटनगर । विराटनगर महानगरपालिकामा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु भएको छ ।
विराटनगर-१८ स्थित आइसिपीनजिकै बिहीबार साँझ ६ः४५ बजेतिर ट्रकको ठक्करबाट स्थानीय ६० वर्षीय श्याम साहको मृत्यु भएको हो ।
विराटनगरबाट आइसिपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो ।
तर, साहलाई अस्पताल पुर्याइएको भए पनि ७ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि तत्काल फरार रहेका ट्रक चालकको खोजीमा प्रहरी जुटेको छ ।
यता, यस बाटोमा बारम्बार दुर्घटना भइरहेको भन्दै स्थानीयले महानगरप्रति असन्तुष्टि जाहेर गरेका छन् ।
यही बाटोको प्रयोगबाट भन्सारले करोडौंको राजश्व संकलन गरे पनि बाटोमा ट्राफिक चिन्ह र सडक बत्ती नरहेपछि राति दुर्घटना हुनेगरेको स्थानीय हमिद आजाद बताउँछन् ।
‘यो बाटोमा चाँडोभन्दा चाँडो पोल जडान गरी लाइटहरूको जडान हुन आवश्यक छ,’ उनी भन्छन्, ‘यो महानगरको सौन्दर्यकरणको बजेट बरू अब यस बाटोमा लगाई झिलिमिली बनाई आगामी दिनहरूमा दुर्घटनाहरूबाट बचाउन सकिन्छ ।’