काठमाडौं । परिवारका सदस्यहरूलाई साथमा लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण थालेका छन् । बिहीबार (आज) भुटान पुगेका उनलाई विमानस्थलमा भुटानी राजकुमारीले स्वागत गरेकी छन् ।
उनी पाँच सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पु पुगेका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी प्रेरणा र पूर्वशाहज्यादी शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।
भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी विमानस्थलमा स्वागत गर्न पुगेकी थिइन् ।
राजा वीरेन्द्र र उनको परिवारको २०५८ साल जेठ १९ गते दरवारमा हत्या भएपछि ज्ञानेन्द्रले राजा बन्ने अवसर पाए ।
यसअघि नै उनका हजुरबुबा त्रिभुवन २००७ सालमा राणा शासनविरुद्ध भारतमा शरण लिन जाँदा तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाएका थिए ।