विराटनगर । मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योगले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको ज्यान गएको छ ।
केराबारी-८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर बिहीवार भुपेन चौलागाईँ र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दाजु भूपेन १० वर्षका तथा भाइ रामचरण ६ वर्षका थिए ।
मृत फेला परेका नाबालकका बुवा तोयानाथ चौलागाईँ त्यही क्रसरका कामदार थिए ।
पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा रामचरणको शव भेटिएको थियो । रामचरणको शव स्थानीयले निकालेर प्रहरीलाई बुझाएका थिए ।
लगत्तै उनको शव प्रहरीले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
खोजी गर्ने क्रममा रामचरणका दाजु भुपेनको शवसमेत त्यही खाल्डोमा भेटिएको थियो ।
आफन्तले भुपेनको शव भने बिहीबार रातिसम्म निकाल्न दिएका छैनन् । उनीहरूले छानबिन गर्नु पर्ने माग राखेर शव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।
एसपी कार्की अनुसार पौडी खेल्न खाल्डोमा पसेका बालक बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान छ ।
उक्त क्रसर केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतले सञ्चालन गरेको स्थानीयले बताएका छन् ।