विराटनगर । विवादित अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश खरेलले दुई वटा मुद्दामा ५०– ५० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
धरौटीमा छुटेपछि प्रसाईंले आजबाट राजनीतिमा आएँ बताउँदै अब प्रधानमन्त्री बन्ने आफ्नो योजना रहेको प्रतिक्रिया दिएका थिए ।
प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुई वटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।
प्रसाईं गत असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।