काठमाडौं । हिमाली र पहाडी जिल्लामा आज र भोलि रातिको समयमा बस नचल्ने भएको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यातायात व्यवसायीलाई आज र भोलि भारी वर्षा हुने भएकाले निम्तिन सक्ने जोखिमलाई ध्यानमा राखी बस नचलाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले लगातार चार दिन भारी वर्षाको पूर्वानुमान गरेपछि प्राधिकरणले एक सूचना जारी गर्दै वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा रात्रीकालिन बस नचलाउन भनेको हो ।
कोशीका ११, मधेशका ३, बागमतीका १२, गण्डकीका १०, लुम्बिनीका १२, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला भारी वर्षाको उच्च जोखिममा रहेका छन् ।
यीमध्ये हिमाली र पहाडी जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले गाडी नचलाउन प्राधिकरणले भनेको हो ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने समेत प्राधिकरणले आग्रह गरेको छ ।