पथरी । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको अन्तिम संस्कार शनिबार गरिने भएको छ । ४५ वर्षीय राईको बुधबार बिहान हृदयघातका कारण निधन भएको थियो ।
गत शनिबार मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए । स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो ।
तर, उपचारका क्रममा उनको निधन भएको थियो ।
मोरङ पथरीका राई मिस्टर काठमाडौं प्रतियोगितामा विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका थिए ।
अब, उनको अन्तिम संस्कार शनिबार मध्याह्न १२ बजे हुने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि पथरी बजारस्थित उनको निवासमा अन्तिम श्रदाञ्जली अर्पन गरिने बताइएको छ ।