विराटनगर । युनाइटेड डर्बीमा म्यानचेस्टर युनाइटेडविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
शनिबार भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा समाप्त भएपछि नजिताको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा सिटी भाग्यमानी सावित भयो । सडन डेथसम्म पुगेको खेलको नतिजा सिटीले ७–६ ले जितेको हो ।
पेनाल्टीमा सिटीका केभिन डी ब्रुयना, एर्लिङ हाल्यान्ड, साभियो, एन्डरसन मोराइस, म्यथ्युस नुनेज, रुबेन डियाज र म्यानुअल अकान्जीले गोल गरे । सिटीबाट पहिलो प्रहारका लागि आएका बर्नार्डो सिल्भाको प्रहार भने गोल हुन सकेको थिएन ।
युनाइटेडका ब्रुनो फर्नान्डेज, डियागो ड्यालोट, एलेजान्डर गार्नाचो, कासिमिरो, स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले पेनाल्टीमा गोल गरे । युनाइटेडका जाडोन सान्चो र जोनी एभान्सको प्रहारले जाली चुम्न सकेको थिएन ।
त्यसअघि खेलमा सुरुआती अग्रता युनाइटेडले बनाए पनि कायम राख्न भने सकेन । ८२औँ मिनेटमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रतामा राखेका थिए । तर, निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।