विराटनगर । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकामा एक सवारी दुर्घटनामा ६५ वर्षीय पैदल यात्रीको मृत्यु भएको छ।
बिहीबार साँझ करिब ७:३० बजे चिमडीबाट हरीनगरातर्फ जाँदै गरेको अज्ञात सवारी साधनले देवानगन्ज गाउँपालिका-७ मा स्थानीय माहावीर यादवलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थल हरिनगरा प्रहरी चौकीबाट करिब ४ किलोमिटर पूर्वमा पर्दछ। दुर्घटना गराउने सवारी साधनको पहिचान तथा खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ।
प्रारम्भिक अनुसन्धानले सवारी साधनको तीव्र गतिलाई दुर्घटनाको कारण मानेको छ।