विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’को उद्घाटन गर्दै उनले विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षा गर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका हुन्।
आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्र लगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरूको पहिचान गरी त्यस्ता क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न र त्यसमार्फत नागरिकलाई विपद्को पूर्वसूचना प्रवाह गर्न आन्तरिक मामिला मन्त्रालयलाई उनले निर्देशनसमेत दिए।
प्रदेशलाई प्रविधिमैत्री बनाउन के कस्तो कानुनी र नीतिगत प्रबन्ध गर्नुपर्छ र यसका लागि के कस्तो जनशक्ति तथा बजेटको व्यवस्था गर्नुपर्छ, त्यसको प्रबन्ध गरिने उनले प्रतिबद्धता लसमेत व्यक्त गरे।
सरकारले निर्माण गरेका यस्ता एप तथा पोर्टलहरुको प्रभावकारिताको बारेमा समय-समयमा अध्ययन समेत गर्न उनले निर्देशन दिए।
‘सरकारले यस्ता एपहरू बनाउने र केही समयपछि निष्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ उनले भने, ‘त्यसैले यस्ता पोर्टलहरूको प्रभावकारिताको बारेमा अध्ययन गर्ने, यसले समाजमा पारेको सकारात्मक र नकारात्मक सबै प्रभावको बारेमा बेलाबेलामा अपडेट गर्नुपर्छ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले विपद्को जोखिमबाट नागरिकको सुरक्षा र उद्धारमा प्रदेश सरकार सधैँ तत्पर रहेको बताए।
प्रदेश सरकार आफ्नो साधन स्रोतले भ्याएसम्म नागरिकको सेवामा अहोरात्र खटिरहेको उनले जानकारी दिए।
विपद्का घटना भएपछि उद्धार र राहतमा खट्ने मात्र नभई जोखिमको पूर्व सूचना दिई नागरिकको जीउधनको रक्षा गर्ने उद्देश्यले नै सरकारले सो पोर्टलको निर्माण गरेको उनको भनाइ छ।
एक लाख लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टल (bipad.koshi.gov.np) मा बाढीपहिरो आउने स्थानका नागरिकहरुलाई पूर्व सूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्स लगायत आकस्मिक सेवाका लागि फोन गर्न सकिने सुविधासमेत उपलब्ध छ।
पोर्टलमा नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रक्रियागत अवस्थामा आधिकारिक भिडियो सम्बोधन, न्यूज फिडलगायतका सुविधा रहेका छन्।