विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।
सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएकाे हो ।
एसइई गत वर्षको चैत १५ गतेदेखि २७ गतेसम्म भएको थियो, जसमा मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेर परीक्षा दिएका थिए ।
यस पटकबाट परीक्षार्थीको प्राप्तांकलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।
यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्यांकनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ ।
दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सातवटै विषयमा २५ अंकको आन्तरिक मूल्यांकन हुने छ भने ७५ अंकको मात्रै सैद्धान्तिक परीक्षा हुने छ ।