विराटनगर । मोरङको जहदा गाउँपालिकामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
मंगलबार राति १० बजेतिर जहदा-४ रामचोकमा जहदामा तीन जना सवार मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।
रामचोक-पोखरिया सडकखण्डमा रामचोकबाट पोखरियातर्फ जाँदै गरेको साइकललाई विपरीत दिशाबाट आँउदै गरेको को ७ प १५०१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
जसमा साइकल यात्री रंगेली नगरपालिका-७ बस्ने अन्दाजी ६० वर्षका रामप्रसाद मण्डल, मोटरसाइकल चालक विराटनगर महानगरपालिका-२ बस्ने अन्दाजी २५ वर्षका महाकान्त कामत घाइते भएका छन् ।
यस्तै, मोटरसाइकलमा पछाडि सवार भारतको उत्तर प्रदेश बस्ने २६ वर्षीय सुरेन्द्र राजपुत र पछाडि सवार सोही स्थानका अन्दाजी २६ वर्षका रोहित माहल घाइते भएका हुन् ।
उनीहरूलाई उपचारको लागि कोशी अस्पताल, विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा तीन जना चढेर तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।