विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
सदरमुकाम गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले मंगलबार बिहा ९ः४५ बजेतिर ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका-३ झुम्का बस्ने ३० वर्षीय रविन श्रेष्ठ र मोटरसाइकलमा पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका-३ चाप बस्ने २८ वर्षीया हीरा राई रहेकी छन् ।
गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको प्र १-२ ००१ ख ८५१४ टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा १०:४५ बजेतिर मृत्यु भएको डिएसपी चापागाईंले बताए ।
प्रहरीले टिपर चालक त्रियुगा नगरपालिका-७ नाम्जेका ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।