दमक । झापासहित कोशी प्रदेशका तराईका जिल्लामा हात्तीले बिध्वंश मच्चाइरहेको छ । हात्तीले भौतिक र मानवीय क्षति बढाइरहेका बेला एकसाथ ६५ वटाभन्दा बढी हात्ती नेपाल छिरेका छन् ।
शनिबार राति नेपाल–भारत सीमा झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा ६५ वटाभन्दा बढी हात्ती नेपाल प्रवेश गरेका हुन् ।
हात्ती सूचना केन्द्र बाहुनडाँगीका अनुसार मेचीनगर नगरपालिका–४ को प्रसादगौँडामा ६५ वटा हात्ती देखिएका हुन् ।
त्यसमध्ये एउटाबाहेक अरू हात्ती भारततर्फ नै फर्किएको सूचना केन्द्रका शंकर लुँइटेलले जानकारी दिए ।
उनका अनुसार एउटा हात्ती नेपालको स्थानीय सामुदायिक वनमा पसेको छ ।
धेरै संख्यामा नेपाल प्रवेश गरेका हात्तीले भौतिक र मानवीय कुनै पनि क्षति नगरेको जनाइएको छ ।
सीमामा दिनहुँजसो धेरै संख्यामा हात्ती देखिने गरेको छ । मेची किनारमा हात्ती देखिने गरेको र नेपाल प्रवेश गर्न खोज्दा -यापिड रेस्पोन्स टिम (आरआरटी) ले हात्तीलाई जताबाट आएको त्यतैतिर फिर्ता गराउने गरेको छ ।
हात्तीको चहलपहल र अवस्था बुझ्न र मानव–हात्ती द्वन्द्व घटाउन नेपाल र भारततर्फ दुवै देशका युवा रहेको आरआरटी बनाइएको छ ।
यसभन्दाअघि ठुलो संख्यामा झापा छिरेका हात्ती एक वर्ष बित्न लाग्दा पनि भारत फिर्ता भएका छैनन् ।
पूर्वी नेपालका विभिन्न सामुदायिक वनमा दर्जनौँ हात्ती बसिरहेको लुँइटेलले जनाउनुभएको छ ।
नेपाल र भारत सीमा मेची खोलासँग जोडिएको भारततर्फको जंगलमा बसेका हात्ती नेपाल छिर्ने प्रयासमा छन् ।