विराटनगर । माेरङकाे कटहरी गाउँपालिका-५ स्थित सुखानी खोलामा एक बालिकाको शव फेला परेको छ ।
घरबाटै सम्पर्कविहीन बनेकी कटहरी-५ की सात वर्षीया प्रीति झाँगडको शव खोलामा डुवेको अवस्थामा भेटिएको हो ।
स्थानीय धर्म झाँगडकी छाेरी प्रीति अभिभावकलाई नभनी आइतबार दिउँसो ३ बजे घरबाट हिँडेकी थिइन् ।
माेरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको खोजी गर्नेक्रममा सोमबार दिउँसो शव भेटिएको हो ।
शवलाई पाेस्टमार्टमका लागि विराटनगरकाे काेशी अस्पतालमा लगेर घटनाकाे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।
उनका अनुसार खाेलामा डुबेर बालिकाको मृत्यु भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
तत्काल हेर्दा घटना शंकास्पद नदेखिएको र अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ने जानकारी उनले दिए ।