विराटनगर । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ ।
सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
सिरोहियाले आफूमाथि लागेको आरोपका सम्बन्धमा न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकामा उनलाई कार्यालय परिसरबाटै पक्राउ गरिनु गम्भीर विषय बनेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कान्तिपुर दैनिकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपहरूको निरन्तर फलोअप गरिरहेको र लामिछानेका लाञ्छित गर्ने खालका अभिव्यक्तिहरूबाट यो घटना प्रतिशोधपूर्ण रहेको महासंघको ठहर छ ।
महासंघले कानुनी अनुसन्धानमा सहयोग गर्ने तर प्रेस स्वतन्त्रतामा बन्देज लगाउने राज्यशक्तिको दुरुपयोग स्वीकार नगर्ने बताएको छ ।
कान्तिपुरको सम्पादकीय नेतृत्वलाई निर्भीक रहन आह्वान गर्दै संविधानद्वारा सुनिश्चित पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरी प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सरकारसमक्ष माग गरेको छ ।
मंगलबार साँझ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ परेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्दै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताएका छन् ।