विराटनगर । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आसन्न आइसिसी टी–२० विश्वकप लक्षित तयारी थालेका छन् ।
सन्दीपले शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानको अभ्यास सेन्टरमा पुगेर तयारी गरेका थिए । सन्दीपको तयारीका क्रममा क्यानमा सचिव एवम् पूर्वकप्तान पारस खड्का पनि पुगेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले पनि सन्दीपलाई अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने टी–२० विश्वकप खेलाउने तयारी गरेको छ ।
पाटन उच्च अदालतले बुधबार पूर्व कप्तान सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि तत्कालै क्यानले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दर्ता भएपछि क्यानले २३ भदौ ०७९ मा उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।
२८ पुसमा २० लाख धरौटीमा थुनामुक्त भएपछि सन्दीप पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । क्यानले १६ माघमा निलम्बन फुकुवा गरेको थियो ।
१५ फागुनमा सर्वाेच्च अदालतबाट अनुमतिसहित विदेशमा खेल्न जान पाएका थिए । तर, १३ पुस ०८० मा जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले २६ पुसमा अनिश्चितकालका लागि राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।
विश्वकपका लागि नेपाली टोली अहिले वेस्ट इन्डिज पुगेको छ । टोलीको यसअघिनै १५ जना खेलाडी समावेश छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मे २५ तारिखसम्म टोलीको खेलाडीमा फेरबदल गर्न पाउने व्यवस्था छ । क्यानले सन्दीपलाई विश्वकप खेल्न टोलीका सामेल गराउने तयारी गरिहरेको जनाएको छ ।
पाँच महिना मैदानबाहिर रहेका सन्दीप टोलीमा अटाउन उनी शारीरिक, मानसिक र प्राविधिक रूपले फिट हुनुपर्ने हुन्छ । नेपाललाई विश्वकपमा छनोट गराउन सन्दीपको भूमिका उल्लेख्य रहेको थियो ।
आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।
यस्तै नेपालले समूहको दोस्रो खेल जुन १२ मा श्रीलंका, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बंगलादेशसँग खेल्ने छ ।
नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।
यसअघि नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो । विश्वकपअघि नेपालले आइसिसीले तय गरेको दुई वटा अभ्यास खेल पनि खेल्ने छ ।
जसअनुसार नेपालले मे २७ तारिख क्यानडा र मे ३० तारिख आयोजक अमेरिकासँग खेल्नेछ । उक्त खेल डालासमा हुने छ ।