विराटनगर । विराटनगरस्थित गिरी फाउन्डेसन र पारस हस्पिटलको समन्वयमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय १० जनाले स्वास्थ्य सेवा पाएका छन् । विराटनगर महानगरपालिका–९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा भएको शिविरमा एक सय १० जनाले सेवा पाएका हुन् ।
शिविरमा विराटनगर महानगरप्रमुख नागेश कोइराला, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले पनि स्वास्थ्य जाँच गराएका थिए । आजको शिविरमा ५३ जनाले थाइराइड चेक गराएका थिए भने ८५ जनाले सुगर टेस्ट गराएका थिए । दुई लाख बराबरको औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो । विशेषगरी गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या अधिक रहेको स्वास्थ्योपचारमा संलग्न डाक्टर सन्दीप पन्तले बताए ।
समाजसेवामा सक्रिय बनेका अभिषेक गिरीले स्थापना गरेको फाउन्डेसनले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गरेको हो । यस्ता शिविरले महँगो अस्पताल पुगेर खर्चिलो उपचार सेवा लिनबाट बञ्चित बिरामीहरूले सुलभ र सहज उपचार सेवा पाउने स्थानीय सेवाग्राही प्रमोदकुमार भगत बताउँछन् ।
गिरी फाउन्डेसनले विराटनगर–११ स्थित पारस मल्टिस्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ । यसअघि विराटनगर–८ मा रहेको श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा, विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा र विराटनगर–१ स्थित परोपकारघाटमा स्वास्थ्य शिविर चलाएको थियो । विपन्न वर्गका बिरामीहरूका लागि यस्ता शिविर जरुरी रहेको विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले बताए ।
निःशुल्क शिविरको चौथो संस्रकणसम्म आइपुग्दा सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले जानकारी दिए ।
अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरेर शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको भनाइ छ । मौलिक हकअन्तर्गतको स्वास्थ्य अधिकारबाट नागरिक बञ्चित भइरहेको बताउँदै उनले सरकार तथा सम्बन्धित निकायको ध्यान खिच्न पनि शिविर चलाइरहेको बताए । आगामी दिनमा मोरङ कारागार, वृद्धाश्रमलगायत ठाउँमा शिविरको आयोजना गर्ने उनको योजना छ ।
शिविरमा आएकामध्ये अतिविपन्न बिरामीलाई फाउन्डेसनका अध्यक्षले उपचार खर्च बेहोर्ने प्रतिबद्धतासहित पारस अस्पताल पठाएका थिए । पछिल्लो समय गिरी स्वास्थ्य क्षेत्रको पहुँचमा सर्वसाधारणलाई पु¥याउन अनि शैक्षिक सुधारका लागि खटिइरहेका छन् ।