विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई फसाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरण उचालेको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसले आफूलाई गलत देखाउन सहकारी ठगी प्रकरणलाई उचालेको आरोप लगाए ।
सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको बताउँदै उनले कांग्रेस माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।
उनले आफूहरू सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए ।
कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो ।
उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए ।