विराटनगर । पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा नेपाली युवाको शव फेला परेको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।
सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका थिए ।
मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् नेपाली पत्रकार प्रबल भट्टराईका अनुसार केही दिनअघि शव भेटिए पनि पहिचान बुधबार मात्र खुलेको थियो ।
गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए ।
नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकै पर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतालमा राखिएको छ ।
उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।
परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवम् विपद व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन् ।