विराटनगर । कपिलवस्तु बहुमुखी क्याम्पसको बिएड चौथो वर्षमा अध्ययनरत छात्रा मनिता चौधरीले आत्महत्या गरेकी छन् ।
‘न्याय नपाएको’ भन्दै मनिताले सुसाइड नोटमा छिमेकी दुई जनाको कारणले आत्महत्या गरेको उल्लेख गरेकी छन् ।
गएराति आत्महत्या गरेकी मनिताले लेखेकी छन्, ‘मृत्युको कारण- उषा कुर्मी र प्रभूदयाल चौधरी हुन् । आत्मसम्मान गुमाउनुभन्दा मर्नु ठिक हुनेछ, हरहर महादेव ।’
प्रभूदयाल चौधरी मृतक मनिताको ठुलोबुवा हुन् । उषा उनकी बुहारी हुन् । घर जोडिएको दुई परिवारबीच झगडा भएको थियो । त्यो झगडा प्रहरी चौकीसम्म पुगेको थियो ।
‘हामीले निवेदन नदिएको कारण पुलिसले पनि हाम्रो दोष देखायो । उषाले पहिला मेरो आमाको हात समातेर तिमीलाई बाटोमा लगेर कुट्छु भनिन् । त्यसपछि मैले पनि उषाको हात समाते, त्यसपछि उषाले आमाको कपाल लुछिन्,’ सुसाइड नोटमा मनिताले लेखेकी छिन् ।
त्यसपछि घटनामा आफ्नो परिवारलाई नै दोष दिएकाले आत्मसम्मानमा चोट पुगेको भन्दै मनिताले आत्महत्या गरेकी हुन् ।
घटना अनुसन्धानमा प्रहरीको पनि कमीकमजोरी रहेको उनले सुसाइट नोटमा उल्लेख गरेकी छन् ।
उनले आत्महत्या गरेपछि ‘घटनामा थप अध्ययन\अनुसन्धान हुन जरुरी देखिएको छ’ भन्दै स्थानीयले माग गरेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।