विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार अर्थात् आजदेखि सुरु हुँदै छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ ।
परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार चार सय १४ जना परीक्षार्थीले रजिस्ट्रेसन फारम भरेका छन् ।
तीमध्ये छात्राको संख्या दुई लाख ५० हजार ७७२ र छात्रको संख्या दुई लाख ५३ हजार ६२७ रहेको छ ।
परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जनाले एसइई दिँदै छन् ।
नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ । त्यहाँ सबैभन्दा कम २३ जनाले जाँच दिँदै छन् ।
गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो भने यस पटकबाट परीक्षार्थीको प्राप्तांकलाई आठवटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ ।
यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ ।
दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अंकको आन्तरिक मूल्यांकन हुने छ भने ७५ अंकको मात्रै सैद्धान्तिक परीक्षा हुने छ ।