विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आसन्न माध्यमिक शिक्षा परीक्षा एसइई दिने विद्यार्थीलाई बिदाइ गरेको छ ।
सोमबार स्कुलमा भव्य कार्यक्रमको आयोजना गरी एसइई दिने ४० जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।
चैत १५ देखि २७ गतेसम्म हुने एसइईको परीक्षा दिने २० छात्र र २० छात्रा गरी ४० विद्यार्थीलाई जनकले शुभकामनासहित बिदाइ गरेको हो ।
कक्षा नौको आयोजनामा भएको बिदाइ कार्यक्रममा नाचगान गर्दै विद्यार्थीहरूले शिक्षक–शिक्षिकालाई मनोरञ्जन दिलाएका थिए ।
विद्यार्थीहरूले बिदाइ कार्यक्रममा केक काटेर शैक्षिक करिअरको अर्को खुड्किलाको शुभकामना पनि आदान–प्रदान गरेका थिए ।
साथै जनकले वर्षभरि शैक्षिक गतिविधिमा उत्कृष्ट रहेका कक्षा १० का विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेको थियो ।
उनीहरूलाई शिक्षक–शिक्षिकाले विभिन्न अवार्ड दिँदै मायाको चिनोसमेत प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षक–शिक्षिकाले एसइईमा उत्कृष्ट नतिजा ल्याएर सफलतातर्फ उन्मुख हुन शुभेच्छा प्रकट गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुनीलकुमार भगतले १४औं ब्याचका विद्यार्थीलाई बिदाइ गर्न पाउँदा हर्ष लागेको सुनाए ।
संस्थापक प्रिन्सिपलसमेत रहेका भगतले १३ वर्षको बसाइ अन्त्य गरेर स्कुलबाट जानपरेकोमा दुखमनाउ नगर्न भन्दै यो अन्त्य नभएर उच्च शिक्षाको खुड्किलो भएको सुनाए ।
३३ वर्षअघि झोराहाटमा खुलेको विद्यालयले शिक्षण सिकाइसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षाका अलाबा अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ ।
हालै सम्पन्न गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा १० स्वर्णसहित १९ पदक जित्दै जनक प्रथम बनेको थियो ।