विराटनगर । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरूलाई राहतस्वरूप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।
सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरू बसेकै ठाउँमा पुगेर सो राहत सामग्री वितरण गरेका हुन् ।
प्रत्येक विद्यार्थीलाई एउटा झोला, केही कापी, कलम, एक सेट सर्ट–पेन्ट र भेस्ट–पेन्ट वितरण गरिएको थियो ।
शैक्षिक सामग्री र पोशाक ३१ जना विद्यार्थीहरूलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार विद्यार्थीहरूको पढाइमा सहयोग गर्नका लागि उक्त राहत सामग्री वितरण गरिएको हो ।
कलेजले समाजप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनको भनाइ छ ।
किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको शैक्षिक सामग्रीले पढाइमा ठुलो सहयोग पुग्ने पीडित विद्यार्थीहरूले बताएका छन् ।
शनिबार दिउँसो विद्युतीय तारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जना विस्थापित भएको जनाइएको छ ।