विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले दुई प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट घोषणा गरेको छ ।
यसरी उत्कृष्ट हुनेमा प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना र प्रहरी सहायक निरीक्षक किशोर भट्टराई रहेका छन् ।
इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको गाडीसहित चार सय ६ किलो ९४० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेका थिए ।
यस्तै, उनले को १ च २९३७ नम्बरको एम्बुलेन्समा २७३ किलो गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेका थिए ।
सप्तकोशीको बाढी नियन्त्रण गर्न लगाइएको ५२ थान पर्क्युपाइन (त्रिखुट्टी) पिलर चोरी गर्ने चार जना मानिस पक्राउ गरेको तिमल्सिनाले युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने बराहक्षेत्र नगरपालिका-२ बस्ने सुनील सिटौलालाई पक्राउ गरेका थिए ।
यसैगरी, उनले बहु-बिवाह मुद्दामा फरार बराहक्षेत्र-८ बस्ने दुई जना प्रतिवादी पक्राउ गरेका थिए ।
फागुन महिनामै उत्कृष्ट घोषित् भट्टराई इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत छन् ।
उनी गत फागुन २१ गते राति पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलीमा १५ वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए ।
सो घटनाको अनुसन्धानमा एसओसिओका रूपमा खटिएका भट्टराईले घटनास्थलको सुक्ष्म अनुसन्धान गरी शंकित व्यक्तिको फुटप्रिन्ट सुरक्षित तरिकाले संकलन गरी सोही फुटप्रिन्टको आधारमा अभियुक्त पक्राउ गरेका थिए ।
त्यसबेला प्रहरीले ग्रामथान गाउँपालिका-४ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-२ बस्ने ३८ वर्ष ३८ को धीरेनकुमार खाँ चौधरीलाई पक्राउ गरेको थियो ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आएको प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको डिआइजी चन्द्रकुवेर खापुङले जानकारी दिए ।