विराटनगर । सुनसरीको इटहरीमा तीव्र गतिको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेकी छन् ।
यस्तै, मोटरसाइकलको ठक्करबाट उनकै छोरा ५८ वर्षीया गोविन्दबहादुर बोहोरा रहेका छन् ।
सोमबार साँझ ६:५० बजेतिर इटहरी-१ हलगडा पिपलचोकस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४० प ४४८३ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरूलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट चन्द्रकुमारीको टाउको, अनुहार तथा हातखुट्टामा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल पठाइएकोमा उपचारका क्रममा बेलुका ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोविन्दबहादुरको पनि अनुहार, हातखुट्टा तथा टाउकोमा चोट लागेको छ । सामान्य अवस्था रहेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना गराउने मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।