विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा कार्यालय सहयोगी बन्न लिखित परीक्षा पास गर्नुपर्ने भएको छ ।
यसअघि सरकारी कार्यालयहरूले कार्यालय सहयोगीको लागि मौखिक परीक्षा मात्र लिने गरेको थियो ।
तर, कानेपोखरी गाउँपालिकाले भने लिखित र मौखिक गरी परीक्षा लिएर कार्यालय सहयोगी भर्ना गर्न आँटेको हो ।
गाउँपालिकाले गत पुस २६ गते सूचना प्रकाशित गरी कार्यालय सहयोगी पदमा आवेदन आह्वान गरेको थियो ।
गाउँपालिकाले दुईवटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र चारवटाको लागि ६ जना कार्यालय सहयोगी मागेको थियो ।
जसका लागि ओभरसियर, सबइन्जिनियर, कृषि (आएसिएजी) र स्नातक पास गरेकालगायत एक सय ३२ जनाले आवेदन दिएका थिए ।
धेरैको आवेदन परेपछि गाउँपालिकाले लिखितसमेत लिने लागेको बताइएको छ ।
गाउँपालिकाले पाठ्यक्रमका आधारमा लिखित तथा मौखिक परीक्षा लिनेगरी सूचना जारी गरेको छ ।
फागुन २९ गते लिखित र ३० गते अन्तर्वार्ता लिने गाउँपालिकाको योजना छ ।