विराटनगर । हाम्रो समाजमा अझै पनि लैंगिक विभेद कायमै छ भन्ने उदाहरण सायद यो घटनाले दिन सक्छ ।
घटना हो, वीरगन्जको । पर्साको वीरगन्जमा छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार बनेकी छन् ।
वीरगन्ज महानगरपालिका-६ रानीघाट ठेगाना अस्पतालमा टिपाएकी सीता देवीले शनिबार बिहान साढे ६ बजे छोरीलाई जन्म दिएकी थिइन् ।
तर, छोराको आशमा रहेकी सीता छोरी जन्मिएपछि साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षागार्डको आँखा छलेर फरार भएको अस्पतालले जनाएको छ ।
सीताका त्यसअघि तीन छोरी जन्मिइसकेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साहका अनुसार सीताको चौथो सन्तान पनि छोरी जन्मिएपछि अस्पतालमै नवजात शिशु छाडेर उनी फरार भएकी हुन् ।
अस्पताल वरपर खोजतलास गर्दा आमा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको डा. साहले बताए ।
छोरी जन्मिएको भन्दै परिवारले झै-झगडा गरेपछि अस्पतालमा रहेका आमा र हजुरआमा शिशुलाई अस्पतालमा अलपत्र छोडेर हिँडेको नारायणी अस्पतालको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिइन् ।
सीता देवीलाई अस्पतालमै पनि परिवारजनले तनाव दिएजस्तो देखिएको थियो ।
पछि आमा र हजुरआमा कोही नभेटिएपछि शिशुलाई एनआइसियूमा राखिएको छ । शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।
अस्पतालमा गलत ठेगाना टिपाइएकाले फरार रहेकी नवजात शिशुकी आमाको खोजी कार्यमा कठिनाइ भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए ।