विराटनगर । नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मोरङ बूढीगंगा गाउँपालिका–४ प्रगति टोलमा शुक्रबार भएको दुर्घटनामा परी घाइते भएका व्यक्तिलाई भेटेका छन् ।
शनिबार बिहान बूढीगंगास्थित विराट मेडिकल टिचिङ हस्पिटल आएर गृहमन्त्री श्रेष्ठ दुर्घटनामा परी घाइते भई उपचाररत ज्योति अधिकारीलाई भेटेका हुन् ।
अधिकारीलाई भेटेर गृहमन्त्री श्रेष्ठले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कोशी प्रदेशसभा सदस्य जीवन आचार्यका अनुसार बूढीगंगामा लहरी पल्टेर भएको दुःखद् घटनाका मृतक बालबालिकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएक हुन् ।
‘गृहमन्त्रीज्यूले नेमुवा दुर्घटनाका घाइतेलाई अस्पतालमा प्रत्यक्ष भेटेर सरकारले गर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो,’ आचार्यले भने ।
शुक्रबार बिहान मार्वल लोड गरेको आरजे २९ जिबी १५६१ नम्बरको भारतीय लहरीको डाला पल्टिएर किच्दा तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थानीय ज्योति अधिकारीको घरमा क्षति पुर्यायाउँदा घरभित्र रहेका पाँच वर्षीय निशान अधिकारी र इसिता अधिकारीको मृत्यु भएको हो ।
उनीहरूसँग खेल्न आएकी स्थानीय सञ्जु खवासकी आठ सात वर्षीया छोरी रिया खवासको पनि मृत्यु भएको थियो ।
उनका अनुसार भारतबाट मार्वल उद्योगका लागि कच्चा पदार्थ लिएर नेमुवाबाट कोयलपुरतर्फ जाने क्रममा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा जुम्ल्याहा निशान र इसिताको मृत्यु हुँदा उनीहरूका बुबा ज्योति अधिकारी गम्भीर घाइते भएका थिए ।
यो पनि :
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए