विराटनगर । साविकको रामगञ्ज बेलगछिया गाउँ विकास समितिका पाँच वडाहरू मिलेर बनेको बर्जु गाउँपालिका वडा नम्बर दुई नौ दशमलव ४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यहाँको जनसंख्या चार हजार एक सय ६४ जनालाई मध्यनजर गरेर यस वडाले शिक्षा, स्वास्थ्य, विद्युत्, यातायातलगायत विकासका पूर्वाधारहरूमा उल्लेखनीय रूपमा काम गरिरहेको छ ।
विशेषगरी २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कर्मचारी, नागरिक अगुवा, वडाबासीलगायत सबैसँग सहकार्य र समन्वय गरी विकासका काममा छलाङ मारिरहेको छ भन्दा फरक नपर्ला ।
गाउँपालिकाबाट पाएको सीमित बजेटका बाबजुत पनि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकासमा एकरूपता ल्याएको वडाले महिला तथा बालबालिका अनि ज्येष्ठ नागरिकको हकमा समेत सुहाउँदिलो काम गरिरहेको छ ।
समाजसेवाको अनुभवले निखारिएका वडाध्यक्ष महेन्द्रप्रसाद कामत नेतृत्वमा रहेको बर्जुको २ नम्बर वडाको काम देखेर वडाबासी खुसीमात्र छैनन्, आगामी योजनाहरूबारे जानकारी लिएर हर्षित् बन्छन् । पाँच वर्षे कार्यकालको दुई वर्ष पुग्नैआँट्दा वडाध्यक्ष कामतको कामका विषयमा गृहणीदेखि लिएर किसानसम्मले गर्व गर्छन् ।
सडकको दुरावस्थामा केन्द्रित भई वडाध्यक्ष कालोपत्रे र ग्राबेल सडक विकासमा पनि अग्रसर भएपछि स्थानीयले राहतको सास फेरेका छन् । यसअघि हिउँद याममा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको बाटो कालोपत्रे गरेर वा आरसिसी ढलान गरेरै भए पनि चकाचक बनेकोमा वडाबासी खुसी छन् । अघिल्लो स्थानीय सरकारले पाँच वर्षमा गर्न नसकेको काम वर्तमान वडाध्यक्षले कार्यकालको सुरुआतमै गरेको भन्दै उनीहरू दंग बनेका हुन् ।
आफ्ना अन्नउपज बजारसम्म पु¥याउनका लागि चाहिने बाटोघाटोको काममा वडाको योगदानप्रति वडाबासी सन्तुष्ट छन् । तथापि, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारतर्फ फोकस भएर कामलाई निरन्तरता दिन उनीहरूको सुझाव छ ।
वडाध्यक्ष कामत नेतृत्वको वडाले गरेका कामबाट किसान पनि प्रसन्न छन् । आफैं पनि किसान भएको नाताले वडाध्यक्षले कृषकलाई उन्नत जातका बिउबिजनमा ७० प्रतिशत अनुदान उपलब्ध गराएका छन् । किसानले गहुँ, धान, तोरी र तरकारीमा ७० प्रतिशत अनुदानमात्र पाएका छैनन्, बेलाबेलामा ट्यांकीसहितको स्प्रे मेसिन अनि समयसमयमा कृषिसम्बन्धी तालिम पनि पाएका छन् ।
यसभन्दा अगाडि आ–आफ्ना कार्यकर्तालाई कृषि सामग्री बाँडेको भनेर स्थानीय सरकार आलोचित भइरहँदा वडाध्यक्ष कामतको पालामा त्यस्तो भएको छैन । उनले वास्तविक किसानलाई साना, मझौला र ठुला गरी तीन समूहमा विभाजन गरेर कृषि सामग्री उपलब्ध गराएका थिए ।
सिचाइँका लागि मोर्टर वितरण गर्ने गरेको वडाले बेलाबेलामा माटो परीक्षण गर्ने, कृषि विज्ञसँगको समन्वयमा उत्पादनमा वृद्धि हुनेगरी तालिम उपलब्ध गराएको छ । अब, किटनाशक औषधिमा पनि अनुदान दिन, वडामा जेटिएको व्यवस्था गर्न तथा बजारीकरणमा पनि ध्यान दिनुपर्ने किसानको माग छ ।
किसानलाई अहिले सिचाइँका लागि बोरिङ मेसिनको आवश्यकता रहेकाले वडाले प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । त्यसबाहेक आगामी आर्थिक वर्षमा बाँधमा विद्युतीकरण गरी सिचाइँमा सघाउ पु¥याउने वडाको लक्ष्य छ । त्यतिमात्र नभएर बँदेल, नीलगाईजस्ता वन्यजन्तुका कारण बालीनालीमा क्षति बेहोरिरहेका किसानलाई राहत दिनका लागि वडाध्यक्ष कामतले सम्बन्धित निकायसँग पहल गरिरहेका छन् ।
कृषि क्षेत्रका अलाबा विकास निर्माणमा पनि वडाले उल्लेखनीय काम गरिरहेको छ । चारैतिरका बाटोहरू पिच र ग्राबेलमा स्तरोन्नति हुँदा यातायात आवतजावतका हिसावले सुगम वडा बनेको छ २ नम्बर वडा ।
सीतागन्ज स्वास्थ्यचौकीदेखि दक्षिण ३ नम्बर वडाको सीमासम्म २७०० मिटर सडक कालोपत्र गरिएको छ भने भीमपुर बजारदेखि ४ नम्बर वडाको बोर्डरसम्म ७०० मिटर सडक पिच गरिएको छ ।
आनन्द चोकदेखि १ नम्बर वडा जोड्ने ६०० मिटर सडकमा आरसिसी ढलान गरेर वडाबासीलाई आवत–जावतमा सहज तुल्याएको छ । रायटोलको पूर्व–पश्चिम ८०० मिटर ग्राबेल सडकमा पनि आरसिसी ढलानको योजना छ । सो बाटोको टेन्डर भइसकेका कारण चाँडै नै सम्पन्न हुनेमा वडाको विश्वास छ ।
यस्तै, वडाले हुकुमलालको घरदेखि पूर्व १०० मिटर सडक पनि आरसिसी ढलान गर्नेगरी प्रक्रिया थाल्ने भएको छ भने कलचोकदेखि पूर्व सय मिटरको बाटोलाई पनि आरसिसी ढलानमा रूपान्तरण गर्न आँटिएको छ ।
शिक्षाको गुणस्तरमा सुधार ल्याउने ध्येयका साथ वडाले सामुदायिक विद्यालयहरूमा नियमित अनुगमन गर्ने गरेको छ । २ नम्बर वडामा तीन सामुदायिक विद्यालय छन् । कक्षा १ देखि १२ सम्म पढाइ हुने रामसीता माध्यमिक विद्यालय, जसमा वडाले ११–१२ मा पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत छुटमा पढाइरहेको छ । गत वर्ष यस्तो सहायता ४० जना विद्यार्थीले पाएका थिए ।
त्यसबाहेक सार्वजनिक राष्ट्रिय आधारभूत विद्यालयमा शौचालय निर्माण गरिदिएको छ । विद्यालयको भवन रंगरोगन तथा स्तरोन्नति गर्नेमात्र नभएर त्यहाँ दरबन्दी कम भइ अध्यापनमा आएको समस्यालाई मध्येनजर गरेर शिक्षक पनि व्यवस्थापन गरिएको छ ।
यसैगरी, नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा वितरण पनि गर्ने गरेको छ । अत्यधिक चिसोका कारण बालबालिका विद्यालय आउन छोड्ने र त्यसको असर शैक्षिक गुणस्तरमा देखिने भएपछि केही समयअघि वडाध्यक्ष कामतले बाल कक्षाका विद्यार्थीहरूलाई ट्र्याक सुट वितरण गरेका थिए ।
स्वास्थ्य क्षेत्रका काममा पनि वडा गम्भीर भएर लागिपरेको छ । वडाले गम्भीर रोगको सिकार भई उपचारमा कठिनाइ भएका बिरामीलाई सहायता रकमका लागि प्रदेश सरकारसमक्ष सिफारिस गर्ने काम वडाले गरिरहेको छ । प्रदेश सरकारको क्राइट एरियाभित्र नपरे पनि आर्थिक विपन्नता निर्क्यौल गरी वडाले ११ हजार रुपैयाँसम्मको रकम वितरण गरिरहेको छ ।
त्यसबाहेक आफ्नो सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडने महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहनस्वरूप एकमुष्ट ६० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । त्यसबाहेक बर्थिङ सेन्टरसमेत चलाउँदै आएको वडाको आफ्नै एउटा एम्बुलेन्स पनि छ ।
वडाबासीलाई र वडामा सेवा लिन आउने सेवाग्राहीलाई पनि असहजता हुन नदिन वडा कार्यालय तल्लीन छ । वडा कार्यालयमा नै युवापुस्तालाई विभिन्न सीपमुलक तालिम दिइरहेको छ । सीपमुलक तालिम उपलब्ध गराएर युवालाई स्वदेशमै अड्याउने र रोजगारीको अवसर सिर्जना गर्नमा लागिपरेको छ, वडा कार्यालय ।
विपद् व्यवस्थापन, ज्येष्ठ नागरिकप्रति जिम्मेवार, सुकुम्बासी समस्या अन्त्यलगायत विविध विषयमा कार्य गरिरहेका वडाध्यक्ष कामतले वडाबासीलाई केही समस्या भए निर्धक्कका साथ राख्न आग्रह गरेका छन् । समृद्ध वडा र सुखी वडाबासी निर्माणमा सघाउ पुर्याउन पनि सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उनको धारणा छ ।