विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमाबूढीगंगा-७ की ५० वर्षीया पारो माझी रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
डिएसपी दाहालका अनुसार माझीले आफूलाई झाँक्री भन्दै ५५ वर्षीया महिलामाथि अमानवीय व्यवहार गरेकी थिइन् ।
ती महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझमात्रै जानकारी पाएको थियो ।
प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दीयो हराएको थियो ।
पूजाको दीयो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ ।
पूजाको दीयो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए ।
उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए ।
त्यसक्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दीयोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ ।
तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् ।
धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालले बताए ।