विराटनगर । एकैपटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार अब नौलो रहेन । तर, तिनै तिम्ल्याहाले पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार भने सबैका लागि रोचक हुन सक्छ ।
बारा जिल्लाको बिकट गाउँमा एकै कोखबाट एकै पटक जन्मिएका तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन् ।
लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना भएकी छन् ।
उनीहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकालेका हुन् ।
लबिबा, अतिका र सबिका जन्मिएदेखि अहिले अध्ययनसम्म सँगसँगै छन् । उनीहरू जन्मँदा मात्रै हैन, पढाइमा पनि कक्षा १ देखि नै सँगसँगै छन् ।
उनीहरूका एउटा भाइ पनि छन् । बाबा मस्जिदमा पढाउँछन् । सामाजिक काममा पनि संलग्न छन् ।
२०६२ चैत १६ गते वीरगन्जमा जन्मिनुभएका उनीहरूबीच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो ।
प्राथमिक तहसम्म त उहाँहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे ।
उनीहरूले माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन गरे ।
‘बाबु सरुवा भएर जता जानुहुन्थ्यो हामीलाई पनि त्यतै लैजानुहुन्थ्यो । त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,’ तिम्ल्याहामध्येकी अतिकाले भनिन् ।
समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामंगलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढेका थिए ।
पढाइमा अब्बल भएकै कारण उनीहरू कक्षा ६ नपढी इटहरीको कञ्चनजंघा बोर्डिङ स्कुलमा भर्ना भए ।
पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस्जिदमा नमाज पढाउने शिक्षक हुन् । यसैले गर्दा उहाँको बेलाबेलामा सरुवा भइरहन्थ्यो ।
उनीहरूले कञ्चनजंघामा कक्षा ७ र ८ पढेपछि काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ र १० पूरा गरे ।
२०७७ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका उनीहरूले समान ग्रेड अर्थात् ३.९ जिपिए प्राप्त गरेका थिए ।
उनीहरूले कक्षा ११ र १२ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट पूरा गर्नुभएको थियो ।
विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा थियो ।
तर, विविध कारणले गर्दा उनले त्यो पूरा गर्न पाइनन् । तर, आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी छिन् ।
आमा सबिलाले साबिकको एसएलसी परीक्षा दिँदै गर्दा तेस्रो दिन तिम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् ।
छोरीहरूको जन्मपछि उनी थप विषयको परीक्षा दिन बञ्चित भइन् र बल्ल अर्को वर्ष एसएलसी परीक्षा उत्तीर्ण भइन् ।
मनभरि पढ्ने रहर हुँदाहुँदै पनि पढ्न नपाएकी उनले आफ्ना छोरीहरूबाट आफ्नो सपना पूरा गर्ने प्रयत्न गरी रहेकी छिन् ।
तिम्ल्याहा पनि आमाकै सपना पूरा गर्ने उद्देश्यका साथ जोडतोडले पढिरहेका छन् ।
उनी भन्छिन्, ‘मेरो पनि चाहना त चिकित्सा क्षेत्रमै जाने थियो । विविध कारणले मेरो इच्छा पूरा भएन । मेरो इच्छा छोरीहरूले पूरा गर्दै छन्, खुसी लागेको छ ।’