विराटनगर । कोसी प्रदेश लोक सेवा आयोगबाट विगत तीन वर्षमा एक हजारभन्दा बढी जना कर्मचारी भर्नाको सिफारिस भएको छ ।
चौथो वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा आयोगका सचिव बाबुराम खतिवडाले गएको तीन वर्षमा एक हजार तीन सय ७७ जनालाई स्थानीय सरकारी सेवामा सिफारिस गरिएको जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २८० जना, २०७९/०८० मा ४०९ जना र २०८०/०८१ को हालसम्म ६८८ जनालाई सरकारी सेवामा सिफारिस गरिएको छ ।
सिफारिस भएकामध्ये अधिकांश प्राविधिक जनशक्ति रहेको उनको भनाइ छ ।
प्राविधिकतर्फ अधिकृत ५९ जना र सहायक एक हजार ३ जना तथा अप्राविधिकतर्फ अधिकृत स्तरका ६१ जना र सहायक स्तरका २५४ जना रहेको आयोगले जनाएको छ ।
सिफारिस भएकामध्ये कोसी प्रदेशका ४४२, मधेस प्रदेशका ३५७, बागमति प्रदेशका ९६, गण्डकी प्रदेशका ४६, लुम्बिनी प्रदेशका १३८, कर्णाली प्रदेशका १६५ र सुदुरपश्चिमका १३३ जना रहेका छन् ।
तीन आर्थिक वर्षमा परीक्षार्थीबाट १४ करोड ११ लाख ५९ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको आयोगले जनाएको छ ।
२०७६ माघ ९ गते स्थापना भएको प्रदेश लोक सेवा आयोगले २०७७ चैतदेखि विज्ञापन गरि कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो ।