पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडाकी लेकिडोमा तामाङ १९ वर्षकै उमेरमा निमावि तह शिक्षक बनेकी छन् ।
हालै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा निमावि तह शिक्षकको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएर उनी नियुक्तिका लागि सिफारिसमा पर्न सफल भएकी हुन् ।
तामाङले सिद्ध काली मावि फेदायक फिदिम ६ बाट २०७४ सालमा एसइई उत्तीर्ण गरेकी थिइन् ।
उनी २०६१ वैशाखमा जन्मिएकी हुन् । तर, नागरिकतामा १४ वर्षमा एसइई दिन प्राविधिक कठिनाइ हुने देखिएपछि उनले उमेर बढाएकी थिइन् ।
उमेर बढाएर उनको जन्ममिति २०६० पुस लेखिएको आमा वीरमायाले बताइन् ।
उनले भनिन्, ‘एसइई दिन १४ वर्ष पूरा हुनुपर्ने थियो । कि कक्षा दोहोर्याउनुपर्ने भयो, कि उमेर बढाउनुपर्ने भयो । कक्षा नदोहोर्याएर उमेर बढाएर एसइई दिएकी हुँ ।’
लेकिडोमाका आमा र बुबा दुवै शिक्षण पेसामा छन् । वीरमायाका अनुसार लेकिडोमा बाल्यकालबाटै पढाइमा तीक्ष्ण रहेकी थिइन् ।
कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उनी एक्लो विद्यार्थी थिइन् ।
विद्यालयमा उनी साथीहरूलाई समेत गणित विषय सिकाउँथिन् ।
‘बुबा गणितको शिक्षक भएकाले साथीहरू घरमै ट्युसन पढ्न आउनुहुन्थ्यो । धेरैजसो मैले सिकाउँथेँ,’ उनले भनिन् ।
लेकिमायाका बुबा गणित र आमा सामाजिक विषय शिक्षण गर्छन् । भाइ बहिनी भने माध्यमिक तहमै अध्ययनरत छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा ‘बिए’ दोस्रो वर्षमा अध्ययनरत तामाङले कोशी प्रदेशका लागि शिक्षक सेवा आयोगले गत वैशाखमा लिएको परीक्षामा सहभागी भएकी थिइन् ।
तामाङ माघ २ गते प्रकाशित अन्तिम नतिजामा कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस हो ।
उनले २०७६ सालमा फिदिमस्थित कञ्चनजंघा एकेडेमी उच्च माविबाट गणित विषममै कक्षा १२ उत्तीर्ण गरेकी थिइन् ।
तामाङले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेपछि खुलेको शिक्षक सेवा आयोगमा एकैपटक नाम निकालेकी थिइन् ।
स्थायी शिक्षकमा सिफारिस भएकी लेकिडोमा सम्भवतः देशकै कान्छी शिक्षक हुनसक्ने शिक्षा तथा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले बताए ।