विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बिहीबार साँझ ७:३० बजे भएको सो दुर्घटनामा सुनवर्षी-६ केरेन्जाका ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार ट्र्याक्टरको ठक्करबाट सञ्जय ऋषिदेवका छोरा समीरको घटनास्थलमै मृत्यु भएको थियो ।
डाइनिया-केरेन्जा भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ उखु लोड गरेर आउदै गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नम्बरको ट्र्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि चालक घटनास्थलमै ट्र्याक्टर छोडेर फरार भएका थिए । राति ११ बजेतिर नै इलाका प्रहरी रंगेलीले चालक सुनवर्षी-६ का ३७ वर्षीय विनोद भनिने तल्लु सोरेन सतारलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटनापछि २००-२५० जना स्थानीय भेला भएर प्रदर्शनसमेत गरेका थिए ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालकले एक्कासि बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
मृतक बालकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि रंगेली नगरपालिकास्थित अस्पताल रंगेली पठाइएको प्रहरीले जनाएको छ ।