काठमाडौं । अबदेखि रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ ।
उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो ।
वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुंगो लगाएको हो ।
इपिएस शाखाका अनुसार आउँदो माघ ६ देखि भाषा परीक्षा सुरु हुनेछ । र, परीक्षा तीन चरणमा हुने छ ।
एक लाख ६४ हजार जना भाषा परीक्षामा सहभागी हुन पाउने विभागका महानिर्देशक डन्डुराज घिमिरेको भनाइ छ ।
पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुने भएको छ ।
पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुने छ ।
कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्नेगरी कार्यतालिका बनाएको हो ।
पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ ।
त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ ।
पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने छ ।
उत्पादनमूलक क्षेत्रका लागि एक लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए, जसमा पहिलो पटक एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए ।
त्यसपछि पानीजहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाको आवेदन परेको छ ।
अब हरेक दिन एक हजार जनाको परीक्षा हुने छ ।
पानीजहाज निर्माण अर्थात् सिप बिल्डिङ क्षेत्रमा पास नभएकाले गएको शुक्रबार पुस २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएका थिए ।
आवेदन भर्न नपाएको विषयलाई लिएर पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दुई युवाको ज्यान गएको थियो ।