विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साह रहेका छन्।
उनलाई बुधबार दिउँसो विराटनगर महानगरपालिका–६ केशलियामार्गबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
‘प्रहरी टोलीले शङ्का लागेर सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ डिएसपी दाहालले भने, ‘अनुसन्धान गरिरहेका छौं। भोलि राजस्व कार्यालय पठाएर सार्वजनिक गर्छौं।’
पक्राउ परेका साहका साथबाट नगदसहित को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिएको दाहालले जनाए।
अनुसन्धान सकेर बिहीबार राजस्व कार्यालय, इटहरी पठाउने तयारी रहेको उनको भनाइ छ।